जिब्रो बिगार्ने खाना

काठमाडौँ — सन् १९७२ मा अमेरिकी खाद्यविद माइकल ज्याकोब्सनले खाँदा मिठो तर शरीरलाई हानि पुर्‍याउने न्युन पौष्टिक तत्त्व भएका तयारी खानेकुरा र पेय पदार्थलाई जङ्क फुड (प्रशोधित खानेकुरा) भनी नामकरण गरे । यस्ता खानेकुरा महिनौंसम्म नबिग्रिउन् भनी विभिन्न रसायनको मिश्रणमा तयार गरिन्छ । नुनिलोपना, गुलियोपना, चिल्लोपना अर्थात् कोलेस्ट्रोलको मात्रा बढी हुन्छ ।

जसमा प्याकिङ गरेर तयारी अवस्थामा राखिएका प्याकेटका खाना (चाउचाउ, चाउमिन, बिस्कुट, मिठाइ, चिजबल्स, चटपटे, हल्का पेयपदार्थ) का साथै होटल तथा रेष्टुरेन्टमा पाइने फास्टफुडसमेत पर्छन् । यस्ता खानेकुराले मानव स्वास्थ्यलाई केही फाइदासँगै बेफाइदा पनि गरिरहेको छ । तर स्वादका हिसाबले जिब्रो लोभ्याउने तथा लठ्याउने खालका हुन्छन् । यही आकर्षणले गर्दा कलिलो उमेरका बालबालिकाले जङ्क फुड खाँदै जाँदा लतमा फँस्दैछन् ।
जङ्क फुड उत्पादन कम्पनीहरूले पनि मुख्यतः बालबालिकालाई नै लक्षित गरी आफ्ना उत्पादनको बजार विस्तार गरिरहेका छन् । सञ्चार माध्यममा आकर्षक शैलीमा विज्ञापन प्रसारण गरेका छन् । संयुक्त राज्य अमेरिकामा मात्रै वार्षिक १ खर्ब ६० अर्ब डलरको फास्टफुड बिक्री हुने गर्छ भने विश्वभरका सुपर मार्केटहरूमा ६ खर्ब २० अर्ब डलर बराबरको जङ्क फुड बिक्री हुँदै आएको छ ।
जङ्क फुड खाने कार्य अस्वस्थकर बानी–व्यवहारसँंग सम्बन्धित छ । लेखक स्वयंको संलग्नतामा उपत्यकाको एक नगरपालिकाभित्रका माध्यमिक तह (कक्षा ९ र १०) मा अध्ययनरत विद्यार्थीहरूमा गरिएको अनुसन्धान अनुसार बालबालिकाको अस्वस्थकर व्यवहार निर्माण वा जङ्क फुड खाने कार्यमा प्रभाव पार्ने मुख्य तत्त्वको रूपमा आमाबाबुको शिक्षा तथा पेसा देखिएको छ ।
अध्ययनमा सहभागी विद्यार्थीमध्ये ६६ दसमलव ६६ प्रतिशतका बाबाहरू शिक्षित छन् । तर ५६ दसमलव ३३ प्रतिशत आमा साक्षरमात्र छन् । जङ्क फुडप्रति पर्याप्त ज्ञान नहुँदा सजिलोका लागि उनीहरूले छोराछोरीलाई कहिले जङ्क फुड नै किनेर पठाउने त कहिले पैसा दिएर विद्यालयमा दिवा खाजा खान लगाउँछन् । जङ्क फुड खाने बानीले छोराछोरीको स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्नेबारे अभिभावकलाई पर्याप्त जानकारी छैन ।
यस अध्ययन क्षेत्रका ७२ दसमलव ६७ प्रतिशत विद्यार्थीले विद्यालय जाँदा दैनिक खाजा लैजाने गर्दैनन् भने लैजाने मध्येका करिब १ तिहाइले घरैबाट जङ्क फुड बोकेर विद्यालय जान्छन् । छात्रछात्राहरूको टिफिन बक्स अवलोकनका क्रममा प्याकेट खोलेर राखेको चाउचाउ, भुजा, दालमोठ, नमकिन तथा बिस्कुट पाइयो । घरबाट खाजा नल्याउने मध्येका ५४ दसमलव ७८ प्रतिशत विद्यार्थीले विद्यालयमा दिवा खाजाको रूपमा जङ्क फुड खाने र बाँकी ४५ दसमलव २२ प्रतिशत विद्यार्थीले मात्र स्थानीय खाद्यान्नबाट बनाइएका खानाका परिकारहरू खाने गरेको पाइयो ।
जङ्क फुडमा अभ्यस्त हुनुमा विद्यार्थी स्वयंमात्र दोषी छैनन् । अभिभावक र विद्यालय प्रशासनसमेत उत्तिकै जिम्मेवार मानिन्छन् । अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय खाजा तयार गरिदिनुको सट्टा जङ्क फुड किनेर पठाउने साथै खाजाको सट्टा पैसा दिने र त्यो पैसाले बालबालिकाले के खान्छन् भन्नेतर्फ ध्यान नदिनु जङ्क फुडको प्रयोग बढ्नुको मुख्य कारक हो ।
विद्यालयका चमेना गृहमा पनि जङ्क फुडको किनबेच बढी हुने र स्थानीय खाद्यान्नका परिकारहरू कम पाइने साथै कुनै विद्यालय हाताभित्र चमेना गृहको व्यवस्था नहुँदा बालबालिका बाहिर गएर जङ्क फुड खाने सम्भावना बढी हुन्छ । दिवा खाजाको उचित प्रबन्ध गर्न नसक्दा बालबालिकाका लागि जङ्क फुडको प्रयोग गर्ने अनुकूल वातावरण बनेको छ । विद्यालय स्तरका कलिला बालबालिका जङ्क फुड खान बाध्य छन् । जङ्क फुड नियमित खाने बालबालिकाको उचित शारीरिक वृद्धि र मानसिक विकास हुँदैन । सानै उमेरका खासगरी सहरिया बालबालिकामा मोटोपना (भद्दापन) को समस्या बढेको छ ।
कर्णाली अञ्चल तथा तराईका केही जिल्लाका निश्चित विद्यालयमा सञ्चालन हुँदै आएको ‘शिक्षाका लागि खाद्य कार्यक्रम’ले शिक्षामा पहुँच वृद्धि गर्नेदेखि जङ्क फुडको रोकथाम गर्न टेवा पुगेको छ । यसबाट पाठ सिकेर देशभरका सबै विद्यालयमा स्वस्थकर खाजा ख्वाउने व्यवस्था गर्न सकिन्छ । यसका लागि विद्यालय प्रशासनले विद्यालय खाजा व्यवस्थापन समिति गठन गर्नुपर्छ ।
समितिले खाजा कार्यक्रमको प्रभावकारिता र व्यवस्थापन सम्बन्धमा अभिझावक तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया र चेतनामूलक कार्यत्रम चलाउनुपर्छ । खाजा कार्यक्रमको आर्थिक व्यवस्थापनका लागि स्थानीय सरकार, गैरसरकारी तथा सामाजिक संघ/संस्थासँग समन्वय गरेर केही रकम जुटाउन सकिन्छ । दोस्रो विकल्प, विद्यार्थीहरूको घरबाट खाद्यान्न अनि पकाउनका लागि सामुदायिक वनबाट दाउरा संकलन गर्ने र अभिभावकहरूबाट न्युनतम रकम उठाउने जस्ता अभ्यासमार्फत ‘विद्यालय पोषण कार्यक्रम’ सञ्चालन गर्न सकिन्छ ।
तेस्रो विकल्प, खाजा कार्यक्रम लागु गर्न सम्भव नभएको विद्यालयमा अभिभावकले आफ्ना छोराछोरीहरूलाई दिवा खाजा बनाएर पठाउने व्यवस्था गर्नुपर्छ । तर खाजा बनाउँदा स्थानीय खाद्यान्नलाई नै प्राथमिकता दिनुपर्छ । बालबालिकाले ल्याउने खाजाको गुणस्तर हेर्ने र जङ्क फुड ल्याए/नल्याएको विद्यालय प्रशासनले अनुगमन गर्नुपर्छ ।
यस अतिरिक्त विद्यालय प्रशासनले समय–समयमा चेतनामूलक कार्यक्रममार्फत बालबालिकालाई आवश्यक पर्ने सन्तुलित भोजन र स्थानीय खाद्यान्नको महत्त्वबारे सचेत गराउनुपर्छ । अनि अभिभावक तथा विद्यार्थीलाई जङ्क फुडको असरबारे सचेत गराएर जङ्क फुड खाने बानीलाई निरुत्साहित गर्नुपर्छ । विद्यालय हाताभित्र स्वस्थकर क्यान्टिन सञ्चालन गर्ने साथै विद्यालय वरिपरि निर्धारित क्षेत्र तोकेर जङ्क फुड किनबेच र प्रयोगलाई निषेध गर्नुपर्छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा देशभरका विद्यालयहरूमा जङ्क फुड प्रयोगको अवस्था र रोकथामका उपायबारे अनुसन्धान गरेर सोही अनुरूपको नीति तथा कार्यक्रम लागु गर्नुपर्छ । नेपालमा खाद्य सामग्रीको गुणस्तरीयता र तिनको प्रयोगको अवस्थाबारे अध्ययन तथा अनुसन्धान गर्नुपर्छ । स्कुले बालबालिकामा जङ्क फुडको बढ्दो प्रयोगलाई समयमा नै रोकथाम तथा नियन्त्रण गरी यससँग सम्बन्धित समस्या तथा चुनौतीलाई निर्मूल गर्न अभिभावक, विद्यालय प्रशासन, समुदाय र सरकारले प्रभावकारी कदम चाल्न जरुरी छ ।
लेखक स्वास्थ्य शिक्षामा स्नातकोत्तर हुन् ।

Comments

Popular posts from this blog

' बालकृष्ण गुरुको विकल्प देखेको छैन '

भरतमोहन अधिकारीलाई बचाउने सम्भावना न्यून : चिकित्सक